आर्थिक वर्षको चौथो त्रैमासको मध्यान्तरमा आइपुग्दा कमर्शियल बैंकहरुमा कर्जा लगानीको तुलनामा निक्षेपको मात्रा घटेको छ। अघिल्लो साता निक्षेप र कर्जा दुवै समानरुपमा वृद्धि भएपनि यस साता कर्जा लगानीको तुलनामा निक्षेपमा गिरावट आएको हो।
बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले घटेको छ भने कर्जा लगानी १० अर्बले बढेको छ । यो तथ्यांकले पछिल्लो समय बैंकहरु निक्षेप संकलनसँगै नयाँ कर्जा प्रवाहमा पनि केन्द्रित भएको देखाएको छ।
जेठ ७ गतेसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ६१ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब १६ अर्ब कर्जा प्रवाह गरेकोमा जेठ १४ गतेसम्म आइपुग्दा बैंकहरुले ३९ खर्ब ५१ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब २६ अर्ब कर्जा प्रवाह गरेका छन्।
एक साताको अन्तरमा बैंकिंङ प्रणालीमा निक्षेप ५ अर्बले घटबढ हुनु सामान्य भएको नबिल बैंकका नायव महाप्रबन्धक मनोज ज्ञवालीको भनाइ छ। १५ दिनमा क्याश रिजर्भ रेसियो ‘सीआरआर’ को ब्यालेन्स राख्नुपर्ने र त्यसको औषत पुर्याउनुपर्ने भएकाले राष्ट्र बैंकमा डिपोजिट गर्दा त्यसले बैंकिंङ प्रणालीमा निक्षेप ४-५ अर्बले तलमाथि हुनुलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाइ छ।
उनी भन्छन्, “सामान्यतया कर्जा लगानीको ग्राफ केही अपवाद बाहेक एकनाश रुपले बढ्दै जान्छ तर निक्षेपको ग्राफ ‘सीआरआर’ को ब्यालेन्स राख्नुपर्ने लगायतका कारणले केही घटबढ हुन्छ, यसलाई सामान्यरुपमा लिनुपर्दछ।”
बैंकहरुले क्याश रिजर्भ रेसियो ‘सीआरआर’ को रुपमा राष्ट्रमा ३ प्रतिशत रकम राख्नुपर्ने हुन्छ। कुल निक्षेप ४२-४३ खर्ब भएको ठाउँमा सीआरआर ३ प्रतिशत राख्नुपर्ने हुँदा निक्षेपमा ४-५ अर्बको उतारचढावलाई अति सामान्यरुपमा लिनुपर्ने ज्ञवालीको भनइ छ।